त्यतिबेलाको सत्ताकेन्द्र हलेसीगढी
दीपेन्द्र राई,
नेपालको इतिहासमा एकपक्षीय तथ्यमात्र समेटिएको भन्दै बेलाबेला विरोध वा बहस सिर्जना हुने गरेका छन् ।वास्तविकता पनि हो कि विभिन्न थुम तथा साना राज्यमा विभाजित त्यसबेलाको नेपालबारे खासै तथ्य बाहिर आइसकेका छैनन् ।पृथ्वीनारायण शाहले एकीकरण गर्नुअघि यहाँका स–साना राज्यको रीतिथिति वा राज्य सञ्चालन प्रक्रिया के–कस्ता थिए ? अझै खोजीको विषय हो ।यसैगरी, खोज र इतिहासमा ओझेलमा परेको एक स्थान हो– हलेसीगढी ।
खोटाङको त्रिधार्मिक धाम हलेसी क्षेत्रमै रहे पनि हलेसीगढी ओझेलमै छ ।पुष्टि त भइसकेको छैन तर प्रारम्भिक अध्ययनले यो गढी ४०० वर्ष पुरानो मानिएको छ ।यहाँ हलेसी क्षेत्रका प्रथम कविला राजा होलैसुङले राज्य सञ्चालन विधि बसालेको तथ्य भेटिन थालेका छन् ।कतिपयले हलेसीको नाम पनि तिनै होलैसुङबाट रहन गएको भन्दै आएका छन् ।
हलेसीगढी हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम साल्तेम्मा र कोटगैराको उचाइमा रहेको डाँडामा छ । यसलाई कोटडाँडा, रावाचुङ र चन्डिडाँडा पनि भनिन्छ । होलैसुङको ढुङ्गेप्रतीकबाट पाँच मिनेट उकालो हिँडेपछि हलेसीगढी प्रवेशद्वार आउँछ ।होलैसुङका १० भाइ छोरा होमदिमहोँछा, मायाराजाहोँछा, जिताराजाहोँछा, पुरिमहोँछा, बिराजाहोँछा, मुङ्लोहोँछा, फ्लोमोहोँछा, नाम्राहोँछा, सैंदाहोँछा, पातेसुङ्होँछाको सम्मान र सम्झनामा निर्मित चौताराबाट ३५ पाइला अघि बढेपछि हलेसीगढीको भग्नावशेष देखिन्छ । यो मुख्य गढी हो ।किरात राजा बस्ने त्यो गोलाकार गढीको जग अझै देख्न सकिन्छ । गढीवरिपरि सुरक्षा खाल्डो (बंकर) खनिएको छ ।
हलेसीगढीबाट २० पाइलाजति हिँडेपछि सैनिक मञ्च पुगिन्छ, जहाँ परेड खेल्न मिल्ने चौर छ । त्यहाँबाट ५० पाइला हिँडेपछि भीमसेनथान पुगिन्छ ।यहाँ रहेको भीमसेनथान पृथ्वीनारायण शाहका सेनाले दोलखाबाट ल्याएका थिए भनिन्छ ।भीमसेनथानबाट ६५ पाइलाजति अघि बढेपछि होलैसुङका चार भाइ होमदिमहोँछा, मायाराजाहोँछा, जिताराजाहोँछा र पुरिमहोँछाले राजा हुनका लागि लगातार तीन दिन लाप्पा जुधेको ठाउँ आउँछ । स्थाीय मिथकअनुसार होलैसुङको निधनपछि उत्तराधिकारी चयन गर्न सकस प¥यो ।अन्त्यमा लाप्पा खेल्दा जसले जित्छ, उही उत्तराधिकारी बन्ने भद्र सहमति भएको थियो रे ।
चार भाइले लाप्पा जुधेकोभन्दा लगभग आधा किलोमिटर पैदल दूरीमा सहायक गढी रहेको छ । जहाँ मन्त्री र नियमित सेनाले आश्रय लिन्थे ।गोलाकार रहेको सहायक गढीको ढुङ्गाको जग छँदै छ । सहायक गढीको आडैमा दक्षिणपट्टि देवीथान निर्माण गरिएको छ ।सहायक गढीबाट आधा किलोमिटर दूरीमा रहेको डाँडामा समेत होमदिमहोँछा, मायाराजाहोँछा, जिताराजाहोँछा र पुरिमहोँछाले लाप्पा जुधेका थिए ।उनीहरूले यहाँ लगातार चार दिन लाप्पा जुधेका थिए रे । सात दिन लाप्पा जुध्दा जिताराजाहोँछाले बाजी मारे ।जिताराजाहोँछाको शेषपछि मखमलहोँछा उत्तराधिकारी छानिए । मखमलहोँछापछि भ्वाँरामहोँछाले गढी सम्हाले ।
भ्वाँरामहोँछाले राजकाज सम्हालेको समयमा पृथ्वीनारायण शाहका सेनाले हलेसीगढीमा आक्रमण गरेका थिए । यो संवत् १८३० भदौको कुरा हो ।१८३० फागुन १५ गते अभिमानसिंह बस्न्यात र पारथ भण्डारीले खोटाङ खार्पाका हरिनन्द पोखरेललाई लेखेको पत्रमा ‘हलेसिमा भोदौ महिनामा फौजलाई षर्च’ बाँडेको उल्लेख भएको हुँदा हलेसीगढीमा १८३० भदौमा पृथ्वीनारायण शाहका सेनाले आक्रमण गरेको पुष्टि हुन्छ ।
राजा होलैसुङ विजयपुरको सेन राज्यतर्फबाट मकवानपुर राज्यविरुद्ध संवत् १७२८ र १७२९ मा दुई युद्धमा सामेल भएका थिए ।युद्धबाट सकुशल घर फर्के पनि छिमेकी च्यास्मीगढीका राजा पल्माखुङसँगको युद्धमा मारिए ।होलैसुङको निधनपछि खिम्लेमा रहेको दरबार अहिले हलेसीगढी रहेको रावाचुङ (कोटडाँडा)मा सारिएको थियो ।सुरक्षाका लागि सारिएको दरबार र हलेसीगढी पृथ्वीनारायण शाहका सेनासँगको युद्धमा क्षत–विक्षत भयो । दरबार र गढीको भग्नावशेष छँदै छ ।युद्धमा रगतको खोलो बगेको थियो । हलेसी तुवाचुङ नगरपालिका–५, साल्तेम्मानिवासी हर्कराज राईले जानकारी गराए, ‘युद्धमा बगेको किरात राईहरूको रगतले खोल्सो बनेको पुर्खाहरूले हामीलाई सुनाएका थिए ।’
‘२०३३÷०३४ सालमा गोठाला जाँदा दरबार र गढीको भग्नावशेष प्रस्टै देखिन्थ्यो ।औषधि हुन्छ भनेर भनिएपछि गोठालामा धेरैपटक मट्याङ्ग्रा खोज्यौँ । तर, पाएनौँ,’ हलेसी तुवाचुङ नगरपालिका–५, डाँडाटोलनिवासी भूपेन्द्रकुमार राईले विगत सम्झे, ‘हलेसीगढीको सय मिटर तल पूर्वपट्टि ढुङ्गाको कापमा भाँचिएको तरवार पनि देखेको थिएँ ।’ मुन्दुम अध्येयता भोगीराज चाम्लिङले समेत त्यही ढुङ्गाको कापमा आफूले पनि तरवार देखेको सुनाए । यो संवत् ०४६ को कुरा हो । ‘२९ वर्षपछि पुग्दा त्यहाँ तरवार रहेनछ,’ मुन्दुम अध्येयता चाम्लिङले थकथक माने, ‘म ०७५ सालमा त्यही ठाउँ पुग्दा तरवार देखिएन ।’ चन्डिडाँडा सामुदायिक वनमा रहेका मुख्य र सहायक गढीका भग्नावशेषमात्रै देखिन्छन् ।संवत् ०४२ मा वृक्षारोपण गरिएपछि गढीका भग्नावशेषसमेत पुरिँदै गएको चन्डिडाँडा सामुदायिक वन अध्यक्ष राईले जानकारी गराए ।
एकताका हलेसीगढीआसपास समाधिस्थलमात्रै थिए । पहिले–पहिले साल्तेम्मा र कोटगैरावासीको निधन हुँदा गढीआसपास सद्गत गरिन्थ्यो ।संस्कृतिकर्मी तथा स्थानीय राजनीतिकर्मी मविन्द्र राईको भनाइ छ, ‘समाधिस्थल बनाउन गढी तथा जीर्ण अवस्थामा रहेको दरबारको ढुङ्गा प्रयोग गरियो । त्यसो गर्नेक्रम बढेपछि बिस्तारै गढी र दरबारको ढुङ्गेजगसमेत प्रस्ट देखिन छाड्यो ।त्यसअघि दरबारको ढुङ्गाको गारो अलि माथिसम्म देखिन्थ्यो ।’ संवत् ०६४ मा स्थानीय भुवानीप्रसाद राईको नेतृत्वमा बनेको सर्वदलीय किरात ऐतिहासिक स्थल संरक्षण समितिले हलेसीगढीको संरक्षण र सम्बद्र्धनार्थ गरेको योगदान स्थानीयले बिर्सेका छैनन् ।हलेसीगढी आइपुगेकालाई जानकारी लिन सजिलो होस् भनेर अहिले होलैसुङ समूहले होलैसुङ चौतारा, हलेसीगढी दरबार, हलेसीगढी सानो दरबार, भीमसेनथान, सैनिक मञ्चलगायतको ‘नेमप्लेट’ राखेको छ । गढी उत्खननका लागि समूहले पहल गर्दै आएको छ । ‘उत्खनन गरिदिनुप¥यो’ भन्दै होलैसुङ समूह पुरातŒव विभागसम्म धाउन छाडेको छैन ।
हलेसीगढी असुरक्षित अवस्थामा पनि सुरक्षित रहेकोमा स्थानीय गौरवान्वित छन् ।पृथ्वीनारायण शाहले लेखेको पत्रमा हलेसीगढी प्राथमिकतामा परेको छ । ‘हलेसी स्थानीय सत्ताकेन्द्र, तत्कालीन माझकिरातको राजनीतिक तथा प्रतिरोधको ऐतिहासिक नेतृत्व गर्ने थलो पनि हो । त्यतिबेला खोटाङभरिका प्रशासक चतमे राय थिए,’ मुन्दुम अध्येयता चाम्लिङले जिकिर गरे, ‘पृथ्वीनारायण शाहका सेनाविरुद्ध खोटाङमा चतमे रायको नेतृत्वमा युद्ध लडिएको थियो ।उनी होलैसुङका सन्तान थिए ।’ भन्न त चमते रायलाई रावाखोलातिरका भन्ने गरिन्छ । तर, होइन । उनी हलेसीकै हुन् ।हलेसीबाट गएका चतमेका सन्तान विहार (भारत)मा छन् । उनकै सन्तान, दरसन्तानले ‘हामी हलेसीका चतमे चाम्लिङ राईका सन्तान हौँ’ भनेपछि त्योभन्दा बलियो प्रमाण अरू
के चाहिएला ?
‘पृथ्वीनारायण शाहले लेखेको पत्रमा रावाका चतमे राय उल्लेख छ । त्यसो किन भनियो ? त्यसो भन्नुका कारण त्यतिबेला उदयपुर जिल्लाको चौदण्डीमा गढी बनाएर शासन गर्ने सेन राजाहरूले खोटाङका लागि प्रशासनिक केन्द्र रावामा स्थापना गरेका थिए,’ उनले प्रस्ट्याए, ‘त्यसकारण सेन राजाहरूद्वारा खोटाङका लागि प्रशासक नियुक्त भएका चतमे चाम्लिङ रावामा बसेर प्रशासन सञ्चालन गर्थे ।युद्धक्रममा आइपुगेका पृथ्वीनारायण शाहका सेनापतिहरूले चतमे कुन गाउँका हुन् भन्नेभन्दा पनि चतमे कहाँका शासक भनेरमात्रै हेरे ।त्यस अर्थमा चतमे रायलाई रावाको भनियो ।’ पहिले होलैसुुुङको दरबार क्षेत्रआसपासलाई हलेसी भनिने मुन्दुम अध्येयता भोगीराज चाम्लिङको आलेखले प्रस्ट्याउँछ । ‘नयाँ हलेसी र पुरानो हलेसी’ आलेखमा चाम्लिङ लेख्छन्, ‘पुरानो हलेसी भनेर साबिक दुर्छिम गाउँ विकास समितिको वडा नम्बर १, ३ र ४ को ठाडो डाँडैडाँडाका गाउँलाई भनिन्थ्यो । त्यो नै होलैसुङको शासनको केन्द्र थियो ।हिजोआजसमेत नयाँ र पुरानो हलेसीलाई उनीहरूको स्वत्वसहित चिनाउनु ऐतिहासिक दायित्व हुनेछ ।’
हिजोआज हलेसी गुफा र आसपासका क्षेत्रलाई हलेसी भनेर बुझिन्छ ।४० वर्षअघिसम्म हलेसी गुफालाई महादेउथान भनेर पुकारिने हलेसी तुवाचुङ नगरपालिका–७, तल्लो कात्तिकेनिवासी जितराज राईले बताउँदै आएका छन् । त्यसताका अहिले हलेसी गुफा भनिने क्षेत्रतिर जाँदा ‘पाटी हिँडेको, मादेउथान हिँडेको, खोक्चिलिपा बुक्टो (गुफा) हिँडेको’ भन्नेहरू जीवितै छन् ।
(लेखक, गोरखापत्रकर्मी हुनुहुन्छ ।) असार १९, २०७८ शनिबार गोरखापत्रमा प्रकाशित ।